एमालेको मेची–महाकाली अभियान अन्तर्गत सप्तरीमा आजका लागि तय कार्यक्रमलाई लिएर राजविराज सहित जिल्लाका प्रमुख बजार तनावग्रस्त बनेको छ । दिउँसो एक बजेका लागि तय कार्यक्रमको विरोधमा मोर्चाका कार्यकर्ता विहानैबाट प्रदर्शनमा उत्रिए पछि कार्यक्रम अनिश्चित बनेको छ । राजविराजमा हुने भनिएको कार्यक्रम एमालेले तीन किलोमिटर उत्तर मलेठ गाविस स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तय भए पनि सो स्थानमा समेत स्थानीयबासीले अवरोध गर्ने बताएका छन । मोर्चा कार्यकर्ता विहानैबाट सप्तरीका बिभिन्न स्थानमा प्रदर्शनमा उत्रिएका छन । उनीहरुले राजविराज, भारदह लगायत क्षेत्रमा यातायात चल्न दिएका छैनन । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कञ्चनपुर खण्डमा यातायात बन्द गराउन खोज्ने मोर्चाका केही कार्यकर्तालाई नियन्त्रणमा लिएको डीएसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो । मोर्चा कार्यकर्ताले राजविराजको गजेन्द्रनारायण चोकमा विहानै टायर बालेर प्रदर्शन गर्ने क्रममा तनाव उत्पन्न भएको छ । कुनै अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले सप्तरीमा १ हजार ५ सय जना सुरक्षाकर्मी परिचालन गरेको प्रमुख जिल्ला अधिकारी उद्व तिमिल्सिनाले जानकारी दिनुभयो । मोर्चाका स्थानीय नेताले एमालेको कार्यक्रममा अवरोध गर्न अपिल गर्दै घरदैलो कार्यक्रम नै सञ्चालन गरेका थिए । यसैबीच, पूर्वघोषित कार्यक्रममा अवरोध नगर्न एमालेले स्थानीयबासीलाई अपिल गरेको छ । लोकतन्त्रमा जुनसुकै दललाई जहा पनि कार्यक्रम गर्ने अधिकार भएको भन्दै एमालेले कुनै अप्रिय घटना भए त्यसको जिम्मा मधेशी मोर्चाले लिनु पर्ने बताएको छ । सुनसरीको इटहरीमा गए राती बसेको एमालेको आपतकालिन बैठकले राष्ट्रिय अभियानलाई असफल बनाउने धम्की दिनु आपत्तिजनक भएको निश्कर्ष निकालेको छ । सरकार समेत अभियान असफल बनाउन लागेको आरोप लगाउदै एमालेले सरकारले शान्ति सुरक्षा दिन नसके पनि मेची महाकाली अभियान नरोकिने जनाएको छ । हामी संग कुरा गदै प्रचार विभाग प्रमुख योगेश भट्टराईले एमालेको मेची–महाकाली अभियान राष्ट्रिय एकताका लागि लक्षित भएकाले कुनै जातजाती वा क्षेत्र विशेषका लागि मात्र नभएको स्पष्ट पार्नु भयो । सप्तरीमा हुने कार्यक्रममा संयमतापूर्वक प्रस्तुत हुन आफ्ना कार्यकर्तालाई एमालेको आग्रह छ । मोर्चा नेताले हिजो एमालेको कार्यक्रम हुन नदिने उद्धेश्य सहित घरदैलो कार्यक्रम समेत सञ्चालन गरेका थिए । कार्यक्रमका दौरान कुनै अप्रिय घटना भए त्यसको जिम्मा स्वयं एमालेले लिनु पर्ने मधेशी मोर्चाको भनाई छ । मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले एमालेको मेची महाकाली अभियानलाई अवरोध गर्ने मोर्चाको कुनै रणनीति नभएको बताउनुभएको छ । मधेश प्रति एमालेको रणनीतिका कारण स्थानीयबासी आफै प्रतिकारमा उत्रिएको दावी गर्दै उहाँले कुनै अप्रिय घटना भए त्यसको जिम्मा स्वयं एमालेले लिनु पर्ने बताउनु भयो । सप्तरीमा कार्यक्रम गर्नु अघि एमालेले मध्यान्ह सुनसरीको इनरुवामा कार्यक्रम गर्दैछ ।
No comments:
Post a Comment