नेकपा एमालेले शुरु गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियानको पूर्व सन्ध्यामा सप्तरीमा पार्टीका जिल्ला नेतालाई मधेसी मोर्चाका कार्यकर्ताहरुले कालो मासो दलेका छन्। मोर्चा कार्यकर्ताले शुक्रबार बिहान एमालेका जिल्ला कमिटिका सहसचिव प्रतापनारायण चौधरीलाई राजविराज १ स्थित माछा बजारमा अभियानको पर्चा बितरण गरिरहेको समयमा चौधरीलाई कालोमोसो दलेका हुन्। चौधरीलाई घेरेर मोर्चा कार्यकर्ताहरुले मालोमोसो दल्न थालेपछि चौधरीसँगै रहेका एमालेका जिल्ला सचिव शम्भु यादव लगायतका जिल्ला नेताहरु लुकेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। उक्त घटनापछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीका संयोजक दिनेश यादवले एमाले विरुद्ध मधेसी जनता आक्रोशित रहेको समयमा पार्टीको गतिविधि गर्न खोजेपछि जनता थप आक्रोशित भएको दावी गर्दै चौधरीलाई जनताले नै कालोमासो दलेको जिकिर गरे। ‘मधेस विरोधी ओलीलाई सप्तरीमा कार्यक्रम नै गर्न दिदैनौं, निषेध, त्यसका लागि प्रतिकार मात्र होइन, जे जे गर्नुपर्छ गर्छौं’ मोर्चा संयोजक यादवले भने। एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपानेले मोर्चाका कार्यकर्ताले आफ्ना जिल्ला सदस्यलाई कालोमोसो दलेको पुष्टि गर्दै कार्यक्रम नै गर्न नदिने मधेसी मोर्चाका नेता कार्यकर्ताको रवैया अराजकताको पराकाष्ठा रहेको प्रतिक्रिया दिए। ‘लोकतन्त्रमा लोकतान्त्रिक ढङ्गले सबै दल र समुदायले आ–आफनो विचारसहित जनतामा जान पाउनु पर्छ, त्यसकै लागि हाम्रो पार्टी मेची–महाकाली अभियान गर्दैछौं’ अध्यक्ष न्यौपानेले भने ‘पार्टी कार्यकर्तालाई कालोमोसो दल्ने, कार्यक्रम गर्न रोक्ने लगायतका अराजक व्यवहार गरियो भने प्रतिरोध गर्छौं।' उनले अहिले मधेसी मोर्चाका कार्यकर्ताहरू मधेसी जनताको दुहाई दिएर तानाशाही बन्न खोजेको आरोप लगाए। यसअघि बिहीबार साँझ पनि एमालेका कार्यकर्ता र मोर्चा कार्यकर्ताबीच राजविराजमा झडप भएको थियो। एमाले कार्यकर्ताहरुले अभियानको पर्चा वितरण गरिरहेको समयमा झडप भएपनि समयमै प्रहरी पुगेकोले कुनै क्षति नभएको प्रहरीले जनाएको छ । मोर्चाले शुक्रबार राजविराजसहित जिल्लाका विभिन्न ठाउँमा ‘मधेस र मधेसी विरोधी केपी ओलीको प्रतिकार गरौं, मधेसी जनतालाई अपमान गर्ने एमाले अध्यक्ष ओलीको आगमनलाई विफल गरौं’ भन्दै माइकिङ र मोटरसाइकल र्याली गरेको छ। मोर्चाले यस अघि नै प्रेस विज्ञप्तिमार्फत् फागुन १९ गतेदेखि विरोध स्वरुप आ–आफनो घर तथा सवारी साधनमा कालो झण्डा बाँधेर विरोध प्रदर्शन गर्ने, विभिन्न गाविस तथा प्रमुख बजारहरुमा कोणसभा र भण्डाफोर अभियान सञ्चालन गर्ने, २२ गते सप्तरीको कञ्चनपुर, भारदह, हनुमाननगर, राजविराज, सखडा, पत्थरगडा, पातो, रुपनी, कठौना, विष्णुपुर र बोदे बर्साइन लगायतका स्थानहरुमा मसाल जुलुस प्रदर्शन गरिने जनाएको छ। त्यस्तै, फागुन २३ गते सप्तरीमा चक्काजाम गर्ने, कञ्चनपुर, भारदह, राजविराज र रुपनीमा विहानैदेखि लाठी जुलुस प्रदर्शन गर्ने, केपी शर्मा प्रधानमन्त्री हुँदा भएको मधेस आन्दोलनमा प्रहरीले गरेको दमनको फोटोसहितको व्यानर झुण्ड्याइने जनाइएको छ ।
No comments:
Post a Comment